वीरगञ्ज, साउन १३ – नेत्रहीन क्रिकेट संघ, मधेश प्रदेशको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशन वीरगञ्ज–९ स्थित होटल गेटवेमा सम्पन्न भएको छ। महाधिवेशनले महेश साह कानुको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विभा कुमारी मण्डल, महासचिवमा छोटी शेर्पा, कोषाध्यक्षमा पृथ्वी तामाङ तथा सदस्यहरूमा संगीता कुँवर, आदित कुमार चौधरी, कविता चौधरी र रञ्जित कुमार चयन भएका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकारी पत्रकार युवराज खडका, शिक्षाविद् मार्टिन मोक्तान र लालबाबु सिंहले खादा ओढाएर बधाई तथा शुभकामना दिएका थिए।
संघका अनुसार अधिवेशनपछि बुधबार बिहान प्रभातफेरी र्याली पनि आयोजना गरिनेछ। कार्यक्रममा 'नगुमोस् है कतै हाम्रो पहिचान, समावेशी, समानता एवं समतामूलक समाजको निर्माण', 'दबिएको आवाज बुलन्द होस्, अपाङ्गता अधिकार हनन नहोस्' तथा 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नारालाई मुख्य सन्देशका रूपमा प्रस्तुत गरिएको थियो।
महाधिवेशन संघका अध्यक्ष महेश साह कानुको अध्यक्षता तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण चापागाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खडका, पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक साह, शिक्षाविद् मार्टिन मोक्तान, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, फोर जी संस्थाका अध्यक्ष नूतन पोद्दार, अफसाना खातुन, सिद्धार्थ बैंक वीरगञ्जका श्वेता मानन्धर, सञ्चारकर्मी राज सराफ, जाकिर हुसेन, सन्तोष कुशवाहालगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण चापागाईंले नेत्रहीन खेलाडीहरूको अनुशासन, आत्मविश्वास र लगनशीलताको प्रशंसा गर्दै उनीहरूले क्रिकेटमार्फत देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याइरहेको बताए। उनले खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गर्दै राज्यबाट आवश्यक सहयोग निरन्तर हुनुपर्ने धारणा व्यक्त गरे।
अध्यक्ष महेश साह कानुले स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गर्दै संघले विभिन्न चुनौतीका बीच उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। उनले संविधानले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन भएमा नेत्रहीन खेलाडीहरूले अझ सशक्त रूपमा खेलकुदमार्फत देशको सेवा गर्न सक्ने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहयोगी सबैप्रति उनले आभार व्यक्त गरे।
यसै अवसरमा सिद्धार्थ बैंक वीरगञ्जकी श्वेता मानन्धरले अन्तर्राष्ट्रिय महिला क्रिकेट खेलाडी मनकेशी चौधरीलाई खादा ओढाएर सम्मान गर्दै नगद ५ हजार रुपैयाँ सहयोग प्रदान गरिन्। साथै उनले भोलिपल्ट हुने प्रभातफेरी र्यालीका लागि पानी तथा खाजाको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाइन्।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जय यादवले गरेका थिए। वक्ताहरूले यस्ता कार्यक्रमले नेत्रहीन खेलाडीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।